आज ‘क्रिसमस डे’ मनाइँदै

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी , १० पुस । आज ‘क्रिसमस डे’ विश्वभर श्रद्धा, उल्लास र सौहार्दपूर्ण वातावरणमा मनाइँदैछ ।

ईसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा प्रत्येक वर्ष डिसेम्बर २५ मा क्रिसमस मनाउने परम्परा छ । यस अवसरमा चर्चहरूमा विशेष प्रार्थना सभा, क्यारोल गीत, दीप प्रज्वलन तथा शुभकामना आदान–प्रदान गरिएको छ।

नेपालमा पनि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानका चर्चहरूमा बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति देखिएको छ । घर–घरमा क्रिसमस ट्री सजाउने, उपहार साटासाट गर्ने र मिठा परिकार बनाउने चलन रहेको छ। युवायुवती तथा बालबालिकामा क्रिसमसको विशेष उत्साह देखिन्छ।

क्रिसमस प्रेम, शान्ति, क्षमा र मानवताको सन्देश बोकेको पर्वका रूपमा लिइन्छ । यस अवसरमा विभिन्न सामाजिक संस्थाहरूले गरिब, असहाय तथा वृद्धाश्रममा सहयोग र शुभकामना कार्यक्रमसमेत आयोजना गरेका छन् ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ। पर्वले सबै समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

FaceBook Comment Plugins