धनगढी, १९ पुस । आजदेखि हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक मनाउने श्रीस्वस्थानी व्रत विधिवत रूपमा शुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि सुरु हुने यो व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने गर्दछ।
श्रीस्वस्थानी व्रत विशेषगरी महिलाहरूले पति तथा परिवारको दीर्घायु,सुख–समृद्धि र मनोकामना पूरा होस् भन्ने कामनासहित गर्ने परम्परा छ । यस अवधिमा प्रत्येक दिन बिहान नदी, कुण्ड वा धारामा स्नान गरी श्रीस्वस्थानी माताको पूजा–आराधना गर्ने चलन रहिआएको छ ।
माघ स्नानको विशेष महत्व धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । यस महिनामा गरिने स्नान, दान, जप–तप र पूजा–पाठले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका पवित्र नदीहरू बागमती, विष्णुमती, त्रिशूली, नारायणी, कोशी, गोदावारी, लगायतका तीरमा आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो देखिएको छ ।
व्रत अवधिभर श्रीस्वस्थानी व्रतकथा पाठ गर्ने, महादेव र पार्वतीको पूजा गर्ने तथा सत्य, संयम र शुद्ध आचरण पालना गर्ने परम्परा रहेको छ । माघ शुक्ल पूर्णिमाका दिन विधिवत व्रत समापन गरी कथा श्रवण तथा दान गरेर यो व्रत सम्पन्न गरिन्छ ।
धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने श्रीस्वस्थानी व्रत र माघ स्नान नेपाली समाजको आस्था, संस्कार र परम्परासँग गहिरो रूपमा जोडिएको पर्वका रूपमा लिइन्छ ।

प्रतिक्रिया
FaceBook Comment Plugins