नेपाल–भारत सीमावर्ती क्षेत्रमा खुलेका मेडिकल कलेजहरूले अनुगमनका लागि भन्दै नेपाललाई पत्र पठाएका छन्

सुमन श्रेष्ठ

धनगढी नेपाल–भारत सीमावर्ती क्षेत्रमा खुलेका मेडिकल कलेजहरूले अनुगमनका लागि भन्दै नेपाललाई पत्र पठाएका छन् । एचए, फार्मेसी, नर्सिङलगायतका विषय पढाउने भन्दै हालसालै खुलेका कलेजहरूले अनुगमनको लागि नेपाललाई पत्र पठाएका हुन् । ती कलेजहरूमा सयौंको संख्यामा नेपाली विद्यार्थी पढ्दै आएका छन् । उनीहरूले पढिरहेको विषय, कोर्ष र प्रयोगात्मक अभ्यासको विषयमा अनुगमनका लागि आउन भन्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) लाई पत्र पठाएका हुन् । ती मेडिकल कलेजहरूले आफूले सम्बन्धन लिएका विश्वविद्यालयमार्फत् पत्र पठाएर अनुगमनको लागि आउन आग्रह गरेका हुन् ।

advertisement

एनएचपीसीका रजिष्ट्रार लिलानाथ भण्डारीले भारतको पारूल विश्वविद्यालय र संगम विश्वविद्यालयले पत्राचार गरेको बताए ।

‘नेपाली विद्यार्थी हाम्रा शिक्षालयमा आएर एचए, फार्मेसी, नर्सिङ लगायतका विषय पढिरहेका छन् । भोलि नेपाल गएपछि एनएचपीसीबाट लाइसेन्स दिनुपर्छ । त्यसका लागि अनुगमन गरिदिन भनेर पत्र पठाएका छन् ।’ भण्डारीले भने ।

advertisement

संगम विश्वविद्यालयले ७ जुलाई २०२३ मा पत्र पठाएको थियो । परिषद्का रजिष्ट्रारलाई सम्बोधन गरी पठाइएको पत्रमा राजस्थानमा रहेको विश्वविद्यालयको अनुगमन गरिदिन अनुरोध गरिएको छ ।

फार्मेसी, नर्सिङ, डीएचए (डिप्लोमा इन हेल्थ एसिस्टेन्ट), हस्पिटल म्यानेजमेन्ट लगायतका विषय पढाउँदै आएको संगम विश्वविद्यालयले पत्रमार्फत् जानकारी दिएको छ ।

यतिसम्म कि डीएचए कोर्ष नेपालको सीटीईभीटी र एनएचपीसीबाट अनुमति प्राप्त गरेको भनिएको छ । तर, यो विषयमा सीटईभीटी र एचएचपीसीले कुनै प्रकारको अनुमति तथा सम्बन्धन नदिइएको प्रष्ट पारेका छन् ।

दुवै निकायमा दर्ता भएको हवाला दिँदै दुवै निकायलाई अनुगमनको लागि अनुरोध गरेको छ । र, अनुगमनमा आउँदा लाग्ने सम्पूर्ण खर्च विश्वविद्यालयले नै बेहोर्नेसमेत जनाएको छ ।

हालै पास भएका विद्यार्थीहरूलाई एनएचपीसीमा दर्ता गराईदिन समेत अनुरोध गरेको छ । यो पत्र प्राप्त भएपछि दुवै निकाय चकित परेका छन् । तपाईहरूबाटै दर्ता भएको भन्दै उनीहरूलाई नै अनुगमनको लागि आउन भनेपछि दुवै निकाय के गर्ने ? भन्नेमा भन्नेमा अलमलमा परेका छन् । संगमले पठाएको पाठ्यक्रममा नेपाली विषय समेत पढाई हुने उल्लेख गरेको छ । डीएचए तेस्रो वर्षको कोर्षमा १०० पूर्णाङ्को नेपाली विषयसमेत राखिएको छ ।

त्यस्तै, पारूल विश्वविद्यालयले आफ्नो विश्वविद्यालयको इतिहासबारे जानकारी गराएको छ । पारूलमा २१ हजार विद्यार्थी पढ्ने क्षमता रहेको जनाएको छ । हाल २ हजार ६०० विभिन्न देशका विद्यार्थीहरू अध्ययनरत रहेको जनाएको छ । पारूलले डिप्लोमा इन पारामेडिकल एण्ड हेल्थ साइन्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, कार्डियोलोजी जस्ता विषयमा पठनपाठन गराउँदै आएको जनाएको छ । पारूलले समेत नेपाली विद्यार्थीहरू अध्ययन गर्दै आएको र त्यसका लागि अनुगमनमा आउन भनेको हो ।

एनएचपीसीका रजिष्ट्रार भण्डारीले आफू ५ महिना पहिले रजिष्ट्रारमा नियुक्त भएर आएदेखि लाइसेन्स दिन भन्दै करिब २०० विद्यार्थी आएको बताए ।

‘म आउने वित्तिकै हेल्थ असिस्टेन्टमा इण्डियाबाट पढेको भन्दै सीटीईभीटीको इक्युभेलेन्ट लिन आएका थिए । मेरो पनि एचए नै बेस हो । हाम्रो पालामा भारतमा ६ महिना डाक्टरसँग काम गरेकोलाई एचए भनिन्थ्यो,’ उनले भने, ‘ओहो यो त बर्बाद हुन्छ । इण्डियाको एचए यस्तो हुन्छ भनेर मैले नै रोकेको हो ।’

भारतका ४ वटा विश्वविद्यालयमा पढेर आएका विद्यार्थीहरू हेल्थ असिस्टेन्टको लाइसेन्स दिनुप¥यो भन्दै एनएचपीसीमा आएका थिए । भारतमा पढेको एचएबारे आफूले प्रश्न उठाएर लाइसेन्समा रोक लगाएको उनको भनाई छ । लाइसेन्स परीक्षामा रोक लगाएपछि विद्यार्थीहरूले विश्वविद्यालयबाटै पत्र लेख्न लगाएका थिए ।

‘ती विश्वविद्यालयको कोर्ष नेपालको सीटईभीटीको हुबहु छ । नेपाली र नेपाल परिचय समेत पढाइरहेका छन् । नेपालको भन्दा कमजोर पाठ्यक्रम छैन भनेर पाठ्यक्रम नै लिएर आएका थिए । तपाईहरू आएर हेरिदिनुप¥यो भनेर भने ।’ उनले बताए ।

ती कलेजमा पढेर आएका विद्यार्थी नेपाली बजारमा आइसकेको अवस्थामा के कस्तो रहेछ भनेर सम्बन्धित विषयको विज्ञ सम्मिलित विज्ञ टोली गठन गरिएको छ । तर, एनएचपीसीको अध्यक्ष पद रिक्त रहेकाले बोर्डले निर्णय गर्न सकेको छैन । जसले गर्दा अनुगमनको लागि जान नसकिएको र विद्यार्थीलाई लाइसेन्स परीक्षा दिन नसकिएको बताए ।

सन् २०१८÷०१९ ब्याचका विद्यार्थी यतिबेला नेपालमा लाइसेन्सका लागि धाइरहेका छन् । तर, परिषद्ले लाइसेन्सको परीक्षा रोकेर राखेको छ ।

सीमा नाकामा खुलेका यस्ता कलेजबाट विद्यार्थीहरू नेपालमा गरिएको विज्ञापनको आधारमा पढ्न गएका थिए ।

नेपालको सीटीईभीटीको कोर्ष नै उता लगेर पढाईरहेका छन् । त्यसमा पनि सीमा क्षेत्र नेपालवारी धमाधम विज्ञापन गरिरहेका छन् । जनकपुर, सिरहा, विराटनगर लगायतका क्षेत्रमा कार्यालय नै खोलेर ती कलेजमा पढ्न विद्यार्थीहरूलाई प्रेरित गर्दै आएका छन् ।

विज्ञापन गर्दा एनएचपीसीबाट, सीटीईभीटी मान्यता प्राप्त भनेर उल्लेख गरिरहेका छन् । तर, दुवै निकायले कसैलाई पनि मान्यता नदिएको प्रष्ट पारेका छन् ।

गैरकानूनी कार्य हुँदासमेत सरोकारवाला निकाय मुकदर्शक बनिरहेका छन् । उनीहरूलाई कारवाही गर्न समस्या भइरहेको रजिष्ट्रार भण्डारीले बताए ।

नेपालमा बन्दः भारतमा खुले

राष्ट्रिय चिकित्सा शिक्षा ऐनका कारण नेपालमा मेडिकल शिक्षा पढाउने २२८ शिक्षण संस्था बन्द भएका छन् । जसमा सीटीईभीटी अन्तर्गतका प्रिडिप्लोमा तहका स्वास्थ्य विषयका १३७ वटा र स्टाफ नर्स ७३ वटा, विश्वविद्यालय अन्तर्गतका स्नातक तहका बिएन १० र बिएस्सी नर्सिङ ८ वटा शिक्षण संस्था बन्द भएका छन् ।

नेपालमा धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेका छन् । पछिल्लो समय सीमावर्ती क्षेत्रमा मात्र १५७ वटा नर्सिङ कलेज खुलेका छन्, जसले नेपाली विद्यार्थी लक्षित गरेर खोलिएको मेडिकल शिक्षा व्यवसायीहरू बताउँछन् ।

स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका महासचिव निर्मल सापकोटाले आयोगका कारण नेपाली शिक्षण संस्था बन्द हुँदै गएको बताए । नेपालमा शिक्षण संस्था बन्द गराउने उद्देश्यले नै ठूलै गिरोह सक्रिय रहेको उनको भनाई छ ।

नेपालमा मेडिकल विषय पढाई हुने शिक्षण संस्था बन्द हुँदै गएपछि स्वभाविक रूपमा नेपाली विद्यार्थीहरू बाहिर जाने उनको भनाई छ ।

सीटीईभीटी र एनएचपीसीबाट मान्यता प्राप्त भन्दै खुल्लमखुल्ला विज्ञापन गर्दै आउँदा उनीहरूलाई किन कानूनी दायरमा ल्याउन नसकिएको ? भन्दै उनले प्रश्न गरे ।