२८ असोज, काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको मूल्य १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६५ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६७ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७२ रूपैयाँ प्रतिलिटर पर्नेछ।