आईसीसी यू-१९ विश्वकप क्रीकेट २०२४ मा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ ।
नेपाल समूह डीबाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौका सहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो । त्यस्तै खलिल अहमदले ओपनर विपिन रावललाई २ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल ८.१ ओभरमा २४/३ को अवस्थामा पुगेको थियो ।
त्यसपछि नेपालको इनिङ सम्हाल्न चौथो विकेटका लागि देव खनाल र आकाश त्रिपाठीले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए । दीपेश कँडेल ४ र दीपक डुम्रे ५ रनमा आउट भएका थिए ।
दीपक बोहरा २७ रनमा आउट भए । टिमलाई जितको लागि ६ रन चाहिँदा दीपक बोल्ड आउट भएका थिए । आकाश चन्द १ रनमा आउट भए । सुवास भण्डारी ९ रनमा नट आउट रहे ।
अफगानिस्तानका फरिदुन दावुड्जाईले ४.४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । खलिल अहमद र नासिर खानले २-२ विकेट लिए । अरब गुल र घजान्फरले १-१ विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो ।
अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मदले सर्वाधिक ३७ रन बनाएका थिए ।
समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एउटा सुपर सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।