काठमाडौँ — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय पक्षसँग आग्रह गरेका छन् । उनले शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिबाट परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन् । रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी १९ जना बेपत्ता छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार बेपत्तामध्ये अधिकांश नेपाली नागरिक छन् । मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग शनिबार बिहानैबाट बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको जानकारी गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । धामीले रुद्रप्रयागको खराब मौसमका कारण आफ्नो गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताहरुको खोजीका लागि स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको बताएका थिए।
यसअघि परराष्ट्रमन्त्री साउदले दिल्लीस्थित नेपाली राजदूताबासलाई पनि भारत सरकारसँग समन्वय गरेर रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका नेपालीको खोज, उद्धार तथा राहतका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।