नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँले बढाएको हो ।
निगमले इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य बढेर आएपछि नेपाली बजारमा पनि बढाइएको जनाएको छ । यसअघि निगमले माघ १७ गते इन्धनको मूल्य बढाएको थियो ।
मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको छ भने दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ कायम भएको छ ।
यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ ।