नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।
ढुङ्गानाले २८७ मत प्राप्त गर्दा पाण्डेले २१८ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत ल्याए । उनीहरू तीनै जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए ।
यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही ५ मतले विजयी भएका छन् । उनले १ सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले १ सय ८८ मत पाए । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले १ सय ६, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।
सचिवमा पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी २ सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले १ सय ६८ मत पाएका छन् । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले १ सय ४७ मत प्राप्त गरेका छन् ।
उपसचिव(खुला) मा पनि ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् । भट्ट २ सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले १ सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् ।
उपसचिव (महिला) मा गंगाकुमारी चौधरी १ सय ९६ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १ सय ६१,रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् । फागुन ६ गते सुरू भएको एमाले नवौं अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुल ५ सय ९१ प्रतिनिधि रहेकोमा ५ सय ७७ मत खसेको थियो ।
शनिबार रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब केहिबेरमा हुने निर्वाचन कमिटीले जनाएको छ।