कैलालीको धनगढी उपमाहानगरपालिका-१४ सि गाउँमा रामजानकी मन्दिरको शिलान्यास गरिएको छ । आज (शनिबार) सुदूरपश्चिम प्रदेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले मन्दिरको शिलान्यास गरेका हुन् ।
मन्दिरको शिलान्यास गर्दै मन्त्री देउवाले प्रदेश सरकारले धार्मिक र साँकृतिक क्षेत्रको पहिचान, संरक्षण, सम्वर्धन गर्दै धार्मिक पर्यटनसँग जोडेर विकास गर्ने रणनीति लिएको बताए । हिन्दुहरुका प्रमुख आराध्य देवका रुपमा मानिदै आएका भगवान राम र जानकीको नाममा निर्माण हुन लागेको रामजानकी मन्दिर निर्माणमा सरकारको तर्फबाट आफूले सक्दो सहयोग गर्ने बताए ।
सुदुरपश्चिम सरकारले गत वर्ष ३ दिने मानसखण्ड सम्मेलन आयोजना गरेको स्मरण गर्दै मन्त्री देउवाले प्रदेश सरकारले सुदूरपश्चिमलाई धार्मिक प्रर्यटनको रुपमा विकास गर्न सकिने बताए ।
गत वर्ष रामजानकी मन्दिर निर्माण गर्न स्थानीयहरुले महायज्ञ संचालन गरी रु. ८ लाख संकलन गरेका थिए । वि.स. २०५२ सालदेखि रामजानकी मन्दिरका नाममा जग्गा प्राप्त गरि सो क्षेत्रमा पुजाआजा गरिदै आएको छ ।
शिलान्यास कार्यक्रम ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु अधिकारीको अध्यक्षतामा सम्मपन्न भएको थियो भने विशिष्ट अतिथि धनगढी उपमहानगरपालिका-१४ का वडाअध्यक्ष मान बहादुर विष्ट रहेका थिए ।