त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको हो ।
नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे। उनले नटआउट ५५ रन जोडेन क्रममा ३७ बलमा १ चौका र ४ छक्का प्रहार गरे।
कुशल र आरिफ शेखबिच पाँचौ विकेटका लागि भएको ८५ रनको साझेदारी नेपालका लागि महत्वपूर्ण सावित भयो। आरिफले आउट हुनुअघि २४ बलमा ३१ रनको योगदान गरे।
आरिफ आउट भएपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले ८ बलमा १६ रन जोडे। नेपालले पछिल्लो दुई ओभरमा ३ विकेट गुमाउँदा १५ रन जोड्न सक्यो।
१९औं ओभरको अन्तिम बलमा आउट भएका करण केसीले ७ रन बनाए भने सोमपाल कामीले २ रन मात्र बनाए।