नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान आजबाट शुरु गर्दैछ । २५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गर्न लागेको हो ।
अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान आज बिहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारबाट उद्घाटन गर्ने छन | छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन गर्ने छन् । उद्घाटनपछि दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड चन्द्रागिरि–२, घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने छन् ।
यस अभियानको लक्ष्य के छ ?
१. नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने गरी पार्टी र जवस/मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गर्ने ।
२. कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने ।
३. आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरूले कम्तीमा १/१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने । संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम ७ वटै प्रदेशमा एक/एक वटा आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने ।
४. अभियानको संयोजन र सञ्चालन सम्बन्धित प्रदेशका इञ्चार्जहरुले गर्ने ।
५. अभियान अवधिभर सामान्यतया केन्द्रीय पदाधिकारीहरूलाई अन्तर प्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यहरूलाई अन्तर पालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरिनेछ । जहाँ जनता त्यहाँ संगठनको मान्यता अनुसार अस्थायी बसोबास स्थलमा समेत कार्यक्षेत्र तोकी पठाइनेछ ।
६. सामान्य कार्यक्षेत्र प्रदेश, जिल्ला पालिका तोकिए पनि मुख्य कार्यक्षेत्र (योजना कार्यान्वयनको क्षेत्र) वडालाई बनाउनुपर्नेछ ।
७. पार्टी केन्द्रीय सदस्य/आयोग सदस्य/सल्लाहकार सदस्यहरूको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस/मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारीहरु सम्मिलित वडा केन्द्रित अभियान टीम बनाइनेछ ।
८. अभियान टिमले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रमहरू सञ्चालन गर्नेछ । अभियान टिममा कलाकार, संस्कृतिकर्मीहरूलाई पनि सहभागी गराउनुपर्नेछ ।
९. अभियान सञ्चालनका लागि प्रदेशमा एक सचिवालय गठन गरिनेछ ।
विस्तृत कार्ययोजना समावेश भएका विषयहरु के के छन् ?
केन्द्रीय समिति बैठकबाट अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको प्रतिवेदनलाई आधारमा प्रदेशको सापेक्षतामा अभियानको विस्तृत कार्ययोजना तयार गरिएको उपाध्यायले जानकारी दिए । जसमा निम्न विषय समावेश गरिएको छ ।
१. सबै तहका कमिटीका बैठक, प्रशिक्षण, स्कुलिङ सञ्चालन गर्ने ।
२. पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।
३. वडाभित्र उत्पीडित वर्ग, समुदाय र जनवर्गका भेला सम्मेलन गर्ने ।
४. सरकारले अघि सारेको सुशासन, समृद्धि र सामाजिक न्यायसँग सम्बन्धित कामहरूलाई आम जनताकाबीच पुर्याउने, सुझाव सङ्कलन गर्ने र समर्थनका लागि अपिल गर्ने ।
५. नेपालको राजनैतिक परिवर्तनका शृङ्खला जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयता कार्यान्वयनबाट प्राप्त अधिकारको महत्त्व र त्यसका लागि नेतृत्वको योगदानलाई स्थापित गर्ने ।
६. आठौँ महाधिवेशनद्वारा पारित ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ सम्बन्धी रणनीति र कार्यनीतिहरूलाई पार्टी पङ्क्ति र जनसमुदायबिच पुर्याउने ।
७. आत्मनिर्भर आर्थिक नीति, प्राकृतिक स्रोतहरू जल जंगल जमिनको व्यवस्थापन सम्बन्धी नीति, कृषि, उद्योग तथा वाणिज्य, शिक्षा, स्वास्थ्य सम्बन्धी नीतिहरू सम्बन्धमा विभिन्न तहमा अन्तरक्रिया गर्ने ।
८. विधान सम्मेलनको तयारीलाई सहयोग पुग्ने गरी नयाँ ढङ्गको कम्युनिस्ट पार्टीबारे पार्टी पङ्क्तिमा व्यापक छलफल गर्ने ।
९. शैक्षिक सुधार, स्वरोजगार, उत्पादनसँग सम्बन्धित कार्यका लागि पेसाका आधारमा संगठित गर्ने ।
१०. सहकारीहरूलाई उत्पादनको काममा लगाउने, बाँझो जमिनको प्रयोग, बजारीकरण, मल बिउको समस्या समाधान हुने कुरामा विश्वस्त पार्ने ।
११. पर्यटन, साना उद्योग सम्बन्धी कामको सम्भाव्यता अध्ययन गर्ने ।
१२. वडाको समग्र डाटा सङ्कलन गर्ने ।
१३. आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको अभियानलाई थप प्रभावकारी बनाउन ३ वटै तहका सरकारहरूले ठोस पहलकदमी बढाउने । यो अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने, पार्टीलाई भ्रष्टाचार विरोधी अभियन्ताको रूपमा स्थापित गर्ने ।
१४. पार्टीको नेतृत्वमा रहेका स्थानीय तहका सरकारहरूले नमुना योजना बनाई कार्यान्वयन गर्ने र ती योजनामा संघीय र प्रदेश सरकारहरूले विशेष सहयोग गर्ने ।
१५. शैक्षिक संस्था, स्वास्थ्य संस्था, स्थानीय सरकारलगायतका कार्यालयहरूको अनुगमन, निरीक्षण र अन्तरक्रिया गरी समस्या समाधानको पहल गर्ने ।
१६. सहरी क्षेत्रमा टोल सुधारका कामहरू, पानी–बिजुलीका समस्या, सार्वजनिक जग्गा अतिक्रमण, फोहोर व्यवस्थापन, जातीय–क्षेत्रीय मनोविज्ञान, आदिवासीहरूबीच अन्तरक्रिया, गुठी, मठ मन्दिर, खेल मैदान, मनोरञ्जनका क्षेत्रका समस्याबारे जानकारी लिने र समस्या समाधानको लागि पहल गर्ने ।
१७. प्राध्यापक, बुद्धिजीवी, सेवा निवृत्त कर्मचारी, मजदुर, व्यवसायी, बेरोजगार, प्राविधिक विषयका विद्यार्थीहरूको अलग अलग डाटा सङ्कलन गर्ने, उनीहरूसँग अन्तरक्रिया गर्ने, सरकारका कामहरूबारे सुझाव लिने र उनीहरूलाई संगठित गर्ने नयाँ उपायहरू खोज्ने ।
१८. विदेशमा रहेका श्रमिकहरूको स–साना इकाईहरू बनाउने, भर्चुअल बैठक गर्ने । उनीहरूसँग प्रत्यक्ष सम्पर्क गरी समस्याहरू सङ्कलन गर्ने र समाधानको पहल गर्ने ।
१९. प्रचार प्रसारको कामलाई व्यवस्थित गर्न डिजिटल प्लेटफर्म सञ्चालनका लागि केन्द्रदेखि वडासम्मको सञ्जाल तयार गर्ने । सामाजिक सञ्जालको अधिकतम सदुपयोग गर्ने । अभियानको प्रचार सामग्री, सरकारको काम कारबाही र उपलब्धिहरूको सन्देशमूलक सामग्री तयार गर्ने । पालिकाहरूले ३ महिने अभियानको डकुमेन्ट्री बनाउने ।
२०. पार्टी बाहिरका विभिन्न संघ संस्था र व्यक्तित्वहरूबीच अन्तरक्रिया गर्ने ।
२१. सबै तहका सरकारसँग पार्टी, जवस/मोर्चा वा अन्य सरोकार समितिहरूको तर्फबाट जनजीविका लगायत विषयमा ज्ञापनपत्र/मागपत्र पेस गर्ने ।