कंचनपुरको लालझाडीमा विज्ञान प्रदर्शनी तथा पढाइ प्रतियोगिता सम्पन्न

धनगढी टुडे समाचार डेस्क

“मूल्य उन्मुख शैक्षिक वातावरण, समग्र लालझाडीको आवरण” भन्ने मुल नाराका साथ कंचनपुरको लालझाडीमा पढाइ मेला २०८० एवम विज्ञान प्रदर्शनी प्रतियोगिता सप्पन्न भएको छ ।

advertisement

पढाइ मेलामा लालझाडी गाउँपालिका भित्रका १५ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । मेलामा सहभागी विद्यालयहरुले विज्ञान प्रदर्शनी समेत गरेका थिए । विज्ञान प्राविधि तर्फ त्रिनेत्र एजुकेसनल एकेडेमी पहिलो, भानु मा वि दोस्रो र सरस्वती मा विले तेस्रो स्थान हासिल गरेको छ ।

advertisement

यता पढाइ मेलामा छात्र तर्फ हेवन पर्ल वर्ड एकेडेमीका सुमित रानाले प्रथम स्थान हासिल गरेका छन । यस्तै स्वतन्त्र मा.वि.का शिबम रानाले दोस्रो र बैजनाथ बालज्योती आ.विका योगेन्द्र नाथले तेस्रो स्थान हासिल गरेका छन् । यस्तै छात्रा तर्फ रामेश्वर मा.बि. कि रोमिका चौधरी पहिलो भईन । बैजनाथ मा.वि कि सरस्वती राना दोस्रो र हेवन पर्ल वर्ड एकेडेमी कि रोश्नी राना तेस्रो भइन ।

कार्यक्रममा बोल्दै भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक बेद प्रकास उपाध्यायले मेलाबाट विद्यार्थीहरुले आफुले पढेका विषयहरु प्रतियोगितात्मक ढंगबाट ब्यवहारमा उतार्न पाएको बताउनुभयो । आफ्नो विद्यालयबाट मेलामा सहभागी हुन पाउँदा गर्व महसुस गरेको समेत उहाँले बताउनुभयो ।

मेलामा बोल्दै सरस्वती मा विका प्रधानाध्यापक तारामणि न्यौपानेले आफुले कल्पना पनि नगरेको विज्ञानका सामाग्रीहरु विद्यार्थीले बनाएर प्रदर्शनीमा राखिएको बताउनुभयो । मेलामा विद्यार्थीहरुले बनाएका स्मार्ट सिटी मोडल, पाओर हाउस, लन्चर मेसिन, जेसिबी मेसिन, लिफ्ट लगायतका स्थानीय सामग्रीहरु पनि राखिएको उहाँले बताउनुभयो । विद्यालय तथा शिक्षकहरुले अवसर सिर्जना मात्रै गरिदिए विद्यार्थीहरुमा आफैले गर्दै सिक्दै गर्नसक्ने प्राविधिक ज्ञान उनीहरूमा रहेको उहाको तर्क छ ।

यता मेला आयोजना गरिएको बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश राज जोशीले मेला आयोजना गरेकोमा लालझाडी गाउँपालिकालाई धन्यवाद ब्यक्त गर्नुभयो ।

विद्यार्थीहरुको विज्ञान र प्राविधिक क्षेत्र प्रतिको रुचि देखेर सो ठाउँमा एउटा विज्ञान तथा प्राविधिक विषय पढाइ आवश्यक रहेको बताउनुभयो । सबैको सल्लाह बमोजिम पालिकामा आफ्नो विद्यालयको तर्फबाट प्रस्ताव पेश गरेको बताउदै पालिका, विद्यालय, विद्यार्थी र स्थानीयको सहयोग मिले छिट्टै प्राविधिक धारको विद्यालय संचालन गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिकाका शिक्षा युबा तथा खेलकुद शाखाका प्रमुख सिद्धराज भट्टले पढाइ मेला, विज्ञान प्रदर्शनी तथा पढाइ प्रतियोगिताले विद्यार्थीको पठन सीपको मुल्यांकन,अभिबृद्वी, प्रतिस्पर्धात्मक भावना उजागर गर्ने बताउनुभयो । विज्ञान प्रदर्शनी मार्फत विद्यार्थीमा बैज्ञानिक सोचको विकास गर्नमा मद्दत मिल्ने बताउनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीमा रचनात्मक तथा खोजमुलक काम गर्न सहयोग मिल्नुका साथै विद्यार्थीका प्रतिभा प्रस्फुटनमा सहयोग हुने अपेक्षा उहाले गर्नुभयो ।

कार्यक्रमको सभापतित्व बैजनाथ माध्यमिक विद्यालयका अध्यक्ष बिर्मा देबि बोहराले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी लालझाडी गाउँपालिकाको उपाध्यक्ष सपना चौधरी राना रहनु भएको थियो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, पालिका भित्रका निजि तथा सस्थागत विद्यालयका प्रमुख, शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लालझाडी गाउँपालिकाका शिक्षा युबा तथा खेलकुद शाखाका प्राबिधिक सहायक कुबेर बहादुर बमले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


यस्तै बैजनाथ माध्यमिक विद्यालयका प्राधानाध्यापक गणेश राज जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सोहि विद्यालयका शिक्षक चन्दर रानाले गर्नुभएको थियो ।