उदयपुर जिप दुर्घटना अपडेट : ८ जनाको मृत्यु, ९ जना घाइते

धनगढी टुडे समाचार डेस्क

उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । उदयपुरको बेलका नगरपालिका– ७ मैदानका नामैनीमा बोलेरो गाडी बिहीबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा सातजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाईते भएको प्रहरीले जनाएको छ ।

advertisement

सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो ।

advertisement

दुर्घटनामा बोलेरोमा सवार रहेका ७ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा धरानको वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार हतुवागढी गाउँपालिका–२ का ४० वर्षीय सवारी चालक मानबहादुर बस्नेत, गाडीमा सवार हतुवागढी गाउँपालिका– २ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, चन्द्रप्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका– ९ का ६८ वर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका–५ की ३० वर्षीया रामकुमारी राई र सुनसरीको इटहरीका ४५ वर्षीय कमल अधिकरीको घटनास्थलमा मृत्यु भएको थियो । हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान राईको धरानको वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका–५ का ३७ वर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका–६ भोजपुरकी २० वर्षीया मिनु राई र ३६ वर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका–२ की ३२ वर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका–१ का १७ वर्षीय सुनिल परियार र १७ वर्षीया सबिना परियार, ईटहरी–१७ सुनसरीकी ३४ वर्षीया गायित्री कट्वाल, उनकी ८ वर्षकी छोरी निकिता कट्वाल र ईटहरी– १७ की २९ वर्षीया रमा थापाको वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ ।