काठमाडौं, १९ जेठ । एप्पल भिजन प्रोमा स्पेसल कम्प्युटरको विशेषता छ । यो भनेको भिजन प्रोले म्याककै स्क्रिन आँखा अगाडि ल्याइदिन्छ । म्याक प्रयोग गर्न तपाईंले म्याक नै बोक्नु पर्दैन । भिजन प्रो हेडसेटले म्याकको स्क्रिन तपाईंले चाहेको ठाउँमा लगाइदिन सक्छ । अर्थात् यसले अगमेन्टेड रियालिटीको कम्प्युटिङ एक्सपिरियन्स दिन मद्दत गर्छ ।
त्यसबाहेक गोपनीयताको सन्दर्भमा पनि यो अगाडि छ । तपाईंले म्याकलाई भिजन प्रोमा कनेक्ट गर्नासाथ म्याकको स्क्रिन बन्द हुन्छ र उक्त स्क्रिन भिजन प्रोमा देखिन्छ । जसले गर्दा तपाईं बाहेक म्याकको स्क्रिन अरू कसैले देख्न पाउँदैनन् ।
त्यो अनुभव लिनका लागि तपाईंले कम्तीमा ३४९९ डलर (करिब चार लाख ६५ हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ । त्यसमा पनि तपाईंसँग पहिले नै म्याक हुनुपर्यो जसले भिजन प्रो सपोर्ट गर्छ ।
तर, यो अनुभव लिनका लागि भिजन प्रो एक मात्र विकल्प रहेन । यसको विकल्पमा स्पेसटप जी-वान ल्यापटप आइसकेको छ । तस्वीरमा झट्ट हेर्दा यो के हो के भन्ने लाग्न सक्छ । तर, यो अग्मेन्टेड रियालिटीयुक्त ल्यापटप हो ।
यो अगमेन्टेड रियालिटी (एआर) ग्लास (चस्मा)सँग कनेक्ट हुने भएकाले यसमा डिस्प्ले राखिएको छैन । उक्त चस्मामा नै कम्प्युटरको सबै स्क्रिन आँखै अगाडि देखिन्छ । उक्त चस्मा लगभग भिजन प्रो जस्तै छ । यसका लागि अहिले सुरुवाती मूल्य १९०० डलर (करिब दुई लाख ५२ हजार रुपैयाँ) तोकिएको छ ।
इजरायली स्टार्टअप कम्पनीले ल्याएको यो कम्प्युटरको मूल्य महँगो नै भएको विश्लेषकहरूको तर्क छ । यद्यपि एआर कम्प्युटिङको क्षेत्रलाई विस्तार गर्न यस कम्पनीको भूमिका पनि उच्च छ । भिजन प्रोले एआर कम्प्युटिङको परिभाषालाई नै स्पष्ट रूप दिएको थियो । तर, मूल्य धेरै महँगो भएकाले बजारमा यसको विकल्पको खोजी गरिएको थियो । स्पेसटप विकल्पमा आएको भए पनि एआर स्पेसल कम्प्युटिङ सर्वसाधारणका लागि महँगै पर्छ भन्ने देखिएको छ ।
स्पेसटप जी-वान एआर कम्प्युटिङ एक्सपिरियन्सको विकल्प भए पनि यो भिजन प्रोजस्तो वायरलेस भने छैन । प्रयोगकर्ताले सबैभन्दा पहिले एआर ग्लासलाई कम्प्युटरको कीबोर्ड डकमा कनेक्ट गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र चस्मामा कम्प्युटरको डिस्प्ले देखिन्छ । यदि यसैमा वायरलेस सिस्टम भए अझ उत्कृष्ट एआर अनुभव पाउन सक्ने अपेक्षा गरिएको छ ।
स्पेसटप जी-वानले विन्डोज अपरेटिङ सिस्टम भने सपोर्ट गर्दैन । त्यसका लागि कम्पनीले स्पेस ओएस स्पेसल अपरेटिङ सिस्टम ल्याएको छ । छुट्टै ओएसभन्दा पनि विन्डोज ११ भएको भए यो ल्यापटप प्रयोगकर्ताको रोजाइमा पर्न सक्ने विश्लेषण गरिएको छ । किनभने विन्डोजका लागि जति एप छन् ती एप यसमा सपोर्ट नहुन सक्छन् । यसले कति एप सपोर्ट गर्न सक्छ भन्ने खुलाइएको छैन ।
एआर ग्लास सुरक्षित राख्नका लागि ल्यापटप कभरमा छुट्टै स्पेस राखिएको छ । त्यसैमा एआर ग्लास राख्ने र आफूलाई आवश्यक पर्दा जहाँसुकै कम्प्युटर खोलेर भर्चुअल स्क्रिन तयार पारी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
अहिले यो कम्प्युटर १०० डलर तिरेर रिजर्भ गर्न सकिन्छ । कम्पनीका अनुसार अक्टोबरदेखि यो कम्प्युटर डेलिभर गरिनेछ । रिजर्भ गर्नका लागि वा यसको बारेमा थप बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । वेबसाइटमा यो कम्प्युटरले कसरी काम गर्छ भन्ने जानकारी भिज्युअल रूपमा देखाइएको छ ।
TECHPANA