आइसिसी टी-२० विश्वकप: नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, ३ असार । आइसिसी ट्वान्टी-२० विश्वकपमा नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अज सोमबार सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपाल जितविहीन भएको हो ।

advertisement

बंगलदेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो ।

नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए । दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेख १७ रनमा आउट हुँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

advertisement

बंगलादेशका तनजीम हसन साकिबले सर्वाधिक चार विकेट लिए । मुस्तफिजुर रहमानले तीन, शाकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।

जितसँगै बंगलादेश चार खेलबाट ६ अंक जोड्दै सुपर ‘एट’मा पुगेको छ । बंगलादेशले श्रीलंकालाई दुई विकेट र नेदरल्यान्ड्सलाई २५ रनले पराजित गरेको थियो । दक्षिण अफ्रिकासँग भने चार रनले पराजित भएको हो ।

नेदरल्यान्ड्ससँग नेपाल ६ विकेट र दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । श्रीलंकासँगको खेल वर्षाको कारण रद्द हुँदा नेपालले एक अंक पाएको थियो । यही एक अंकसहित नेपालले विश्वकप अन्त्य गरेको छ ।