काठमाडौँ, १० असार । आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) सम्पन्न खेलमा आयोजक राष्ट्र वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’का आधारमा तीन विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।
वर्षाले लामो समय खेल अवरुद्ध भएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १७ ओभरमा एक सय २३ रन बनाउनु पर्ने गरी दक्षिण अफ्रिकाले नयाँ लक्ष्य पाएको थियो । दक्षिण अफ्रिकाले १६.१ ओभरमा सात विकेट गुमाएर एक सय २४ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।