आइसिसी ट्वान्टी-२० विश्वकप: क्रीकेटमा बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, ११ असार । आइसिसी ट्वान्टी-२० विश्वकप क्रीकेटमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । आज (मंगलबार) बिहान सम्पन्न खेलमा बंगलादेशलाई डिएलएस पद्धतिमा आठ रनले पराजित गर्दै अफगानिस्तान सुपर ‘एट’ को समूह १ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

advertisement

अफगानिस्तानले दुई खेलबाट चार अंक जोड्यो । पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको अफगानिस्तानले त्यसपछिका दुई खेलमा पुनरागमन गरेको हो ।

दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले सेमिफाइनल सम्भावना बलियो बनाएको थियो । योसँगै अस्ट्रेलिया सुपर ‘एट’बाटै बाहिरिएको छ । अस्ट्रेलियाले दुई अंकमात्रै जोड्न सक्यो ।

advertisement

बंगलादेशका ओपनर लिटनकुमार दासले अविजित रहँदै ५४ रन बनएपनि हार टार्न सकेनन् । ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे। तौहीद हृदोय १४ र सौम्य सरकार १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

अफगानिस्तानका नवीन उल हक र राशिद खानले समान चार विकेट लिए। फजलहक फारुकी र गुलबदीन नइबको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए। ५५ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

इब्राहिम जदरान १८ र अजमतउल्लाह ओमरजाई १० रनमा आउट हुँदा राशिद खान १९ र करिब जनत सात रनमा अविजित रहे ।

बंगलादेशका रिशाद हुसैनले सर्वाधिक तीन विकेट लिए । तस्किन अहमद र मुस्तफिजुर रहमानको नाममा समान एक विकेट रह्यो ।