काठमाडौं, ३ असोज । सरकारले सर्वसाधारणका लागि धरहरा खुला गरेको छ । आज (बिहिवार) संविधान दिवसको अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए । त्यति बेला धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ लगायत संरचना बनाउन बाँकी थियो ।
२०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो । भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ । उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ ।
अहिले ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा भीमसेन थापाले ११ तले बनाएका थिए । ९० सालको भुइँचालोमा भत्केर उक्त धरहरा नौ तलामा सीमित भएको थियो । त्यसपछि नौ तला नै राखेर पुनर्निर्माण गरिएको थियो । अहिले बाहिरबाट देखिँदा ११ तले छ । भित्र भने २२ तला छ । जमिनमुनि तीनवटा तला बनाइएको छ ।