काठमाडौं, २८ कार्तिक । नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु-१९ टी-२० महिला विश्वकपमा छनोट भएको छ । आज (बुधबार) भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो ।
यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रञ्जितले २० रन बनाइन् भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २/२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।
छनोट प्रतियोगितामा नेपालले ६ मध्ये पाँचमा जित र एक खेलमा मात्र हार बेहोर्यो । यूएईसँगको पहिलो भेटमा नेपाल १३ रनले पराजित भएको थियो । बाँकी पाँचवटा खेलमा भने नेपालले फराकिलो जित निकाल्यो ।