धनगढी, ८ भदौ । धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ । आज (शनिवार) एक कार्यक्रम गर्दै उपमहानगरपालिकाले आचार्य दमाई सम्मान गरेको हो ।
उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आचार्य दमाईलाई सम्मान पत्र र एक लाख ५१ हजार नगदसहित सम्मान गरेका हुन् । आचार्य दमाइलाई बाजागाजासहित नगर सभा हलमा नगर प्रमुख हमाल, कार्यपालिका सदस्य र कर्मचारीहरूले स्वागत गरेका छन् ।
नगर प्रमुख हमालले शिल्पी समुदायबाट आचार्य उपाधी हासिल गरेका दमाइलाई धनगढी उपमहानगरपालिकामा जागीर गर्न आउन समेत आग्रह गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका दमाइले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका हुन् । शिल्पी समुदायबाट संस्कृतमा आचार्य पास गर्ने दमाई नेपालकै पहिलो व्यक्ति हुन् ।
सम्मान कार्यक्रममा बोल्दै आचार्य दमाइले “सनातन धर्मको रक्षाका लागि सबै समुदायले विभेद त्यागेर अगाडि बढ्नुपर्ने बताए । उनले धनगढी उपमहानगरपालिकाले सबैभन्दा पहिले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै सनातन धर्मको रक्षाका लागि काम गर्ने” बताए ।