एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान आज

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, २ पुस । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका चयनका लागि आज मतदान हुँदैछ ।

मंगलबार बिहानदेखि हुने भनिएको मतदान विभिन्न प्राविधिक कारण देखाउँदै साँझसम्म सारिएको थियो । नयाँ नेतृत्व चयनका लागि विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरु मतदान गर्न लाइनसमेत बसिसकेको अवस्थामा पुनः मतदान समय बुधबारका लागि सारिएको थियो ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार आज बिहान ८ः०० बजेदेखि मतदान सुरु हुने छ । ‘विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि मंगलबार साँझदेखि सुरु गर्ने भनिएको मतदान स्थगित गरिएको थियो ।’ उनले भने ।

तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ ।

महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ भने महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे चुनावी मैदानमा छन् । पोखरेल ओली प्यानलका हुन भने पाण्डे ईश्वर प्यानलबाट महासचिवमा चुनाव लड्दै छन् ।
Farakdhar

प्रतिक्रिया

FaceBook Comment Plugins