‘जनताको म्यान्डेटलाई धोका दिँदिन’ : मेयर गोपाल हमाल

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, ३ माघ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्दै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने चर्चा चलेपछि हमालले त्यसलाई निराधार र भ्रामक भन्दै खण्डन गरेका हुन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका मेयर हमालले जनताबाट प्राप्त म्यान्डेटअनुसार पाँच वर्षसम्म नगरबासीको सेवा गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । उनले आफूलाई धनगढीका मतदाताले स्वतन्त्र मेयरका रूपमा निर्वाचित गराएकाले कार्यकाल पूरा नहुँदासम्म कुनै पनि दलमा नलाग्ने स्पष्ट बताए ।

मेयर हमालले भने, “मैले कुनै पनि पार्टी प्रवेश गर्ने योजना बनाएको छैन । मलाई धनगढीका जनताले पाँच वर्षका लागि स्वतन्त्र मेयरको जिम्मेवारी दिएका हुन् । जनताले दिएको विश्वास र जिम्मेवारीलाई इमानदारितापूर्वक पूरा गर्ने प्रयासमा छु ।”

उनले पाँच वर्ष पूरा नहुँदासम्म कुनै पनि राजनीतिक दलमा नलाग्ने स्पष्ट गर्दै सामाजिक सञ्जालमा फैलाइएका अफवाहमा विश्वास नगर्न सबैलाई आग्रह गरे । “म जनताको म्यान्डेटअनुसार २०८४ को स्थानीय तह निर्वाचनसम्म स्वतन्त्र नै रहेर काम गर्छु,” उनले भने, “अहिले कुनै पनि पार्टी प्रवेश गर्ने योजना छैन ।”

केही दिनयता मेयर हमाल रास्वपा प्रवेश गर्न लागेको भन्दै उनका तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा प्रचार गरिँदै आएको थियो । उक्त प्रचारबाजीप्रति ध्यानाकर्षण गराउँदै उनले त्यस्ता निराधार हल्लाको पछि नलाग्न नगरबासी तथा आम नागरिकलाई अनुरोध समेत गरेका छन् ।

मेयर हमालले जनताको विश्वासमा कुनै हालतमा घात नगर्ने दृढता व्यक्त गर्दै आफ्नो सम्पूर्ण ध्यान धनगढी उपमहानगरपालिकाको विकास, सुशासन र सेवा प्रवाहमा केन्द्रित रहने पनि बताएका छन् ।

प्रतिक्रिया

FaceBook Comment Plugins