लेखक डा डम्बरराज पाण्डेयद्वारा लिखित सुदूरपश्चिमका प्रख्यात शक्तिपीठहरूको सङ्गालो ‘सुदूरपश्चिमका प्रख्यात शक्तिपीठहरू’ नामक कृतिको लोकापर्ण गरिएको छ ।
सुदूरपश्चिमका विभिन्न नौवटा शक्तिपीठको सङ्गालो उक्त कृतिको आज यहाँ आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सार्वजनिक गर्नुभयो ।
पर्यटन व्यवसायी नरेन्द्रदेव भट्टले प्रकाशन गर्नुभएको उक्त कृतिमा बैतडीको त्रिपुरासुन्दरीबाट बाजुराको बडिमालिकासम्मका शक्तिपीठ समेटिएको छ । पुस्तकमा बैतडीको त्रिपुरासुन्दरी, मेलौली भगवती, निङ्गलासैनी र डिलासैनी तथा डडेल्धुराको उग्रतार, डोटीको शेलेश्वरी, अछामको वरदादेवी, बझाङको सुर्मादेवी र बाजुराको बडिमालिकाको अनुसन्धानात्मक विवरण प्रस्तुत गरिएको छ ।
नेपाली कांग्रेसका मुख्य सचेतक लेखकले धार्मिकरूपले सुदूरपश्चिम देवोभूमि रहेको भन्दै कृतिका माध्यमबाट समग्र सुदूरपश्चिमको धार्मिक एवं पर्यटकीयस्थलको उजागर र प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो । सो क्षेत्रको संस्कृति र सभ्यता एवं धार्मिक शक्तिपीठको प्रचार–प्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
“सुदूरपश्चिमलाई धार्मिक पर्यटीयस्थलका रूपमा पनि विकास गर्न सकिन्छ, आर्थिक समृद्धिको आधारका रूपमा संस्कृति र सम्पदाको संरक्षण प्रवर्द्धनमा सबै जुट्न जरुरी छ”, उहाँले भन्नुभयो । नेता लेखकले लोकतन्त्रलाई सुदृढ तुल्याउन जनतामा वितरणको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य नयनसिंह महरले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक शक्तिपीठको अनुसन्धानात्मक विवरण प्रस्तुत गरिएको कृतिले नयाँ पुस्तालाई इतिहास सम्झाउने र ज्ञान अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
लेखक पाण्डेयले भगवतीका शक्तिपीठको व्याख्यासँगै पुर्खाको विगत, विभिन्न जातजातिको संस्कार, संस्कृति र पहिचान प्रस्तुत गर्ने जमर्को गरिएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रको पहिचानसँग जोडिएको भाषा, धर्म, संस्कृति र संस्कारको संरक्षण संवर्द्धनमा नयाँ पुस्तामा प्रेरणा जगाउने उद्देश्यले कृति प्रकाशन गरिएको उल्लेख गर्नुभयो ।
कृतिका प्रकाशक भट्टले परम्परागत संस्कृति र सम्पदाको जगेर्ना गर्न र नयाँ पुस्तामा धर्म, संस्कृतिको जागरणमा उत्प्रेरित गर्न कृतिले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।