एमालेको बाग्मती प्रदेश अधिवेशनको निर्वाचन केन्द्रीय कार्यालयमा हुने

धनगढी टुडे समाचार डेस्क

९ असोज, काठमाडौं । भृकुटीमण्डपमा उद्घाटन भएको नेकपा एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको कार्यक्रम  भोलिदेखि केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ । अधिवेशनको दोस्रो दिन मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलेको थियो ।

advertisement

मंगलबार राजनीतिक, संगठनात्मक र लेखा प्रतिवेदनमाथि छलफल भयो । यी प्रतिवेदनहरु पारित भएपछि बुधबारदेखि केन्द्रीय कार्यालय च्यासलमा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ ।

निर्वाचनको कार्यतालिका पनि आजै तय भएको छ । तालिका अनुसार बुधबार बिहान ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन,  ९:३० देखि ११:०० बजेसम्म मनोनयन दर्ता, दिउँसो ४ बजे उम्मेदवारी फिर्ता र ५:०० बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

advertisement

साँझ ६ बजेदेखि मतदाताहरुको नामावली विद्युतीय मेसिनमा राखेर बिहीबार बिहान ११ बजेदेखि मतदान गर्ने तालिका तय भएको छ । अधिवेशनमा १ हजार १७४ प्रतिनिधि चयन भएका छन् ।

निर्वाचन प्रक्रिया सँगसँगै सहमतिको प्रयत्न गर्ने नेताहरुले तयारी गरेका छन् । बागमती प्रदेश अध्यक्षका लागि केशव पाण्डे, कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, रचना खड्का, कृष्णभक्त पोखरेल लगायतले दाबी गरेका छन् ।

तर सर्वसम्मत नेतृत्व चयनको कसरत चलिरहँदा कैलास ढुंगेल र कृष्ण दाहालबीच बलियो दाबी देखिएको नेताहरुले बताएका छन् । संभवतः चुनाव हुँदा यी दुई बीच हुने संभावना छ ।