इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्याम हटस्परमाथि ४–१ गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा टोटनह्यामले सुरुमै आग्रता लिए पनि पछि २ जना खेलाडी रातो कार्डका कारण मैदान छाड्दा चेल्सीलाई फराकिलो नतिजा सुम्पिएको थियो । डेजन कुलभेस्कीले छैटौं मिनेटमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए ।
३२ औं मिनेटमा टोटनह्यामका क्रिष्टियन ग्याब्रिएल रोमेरोले डीबक्सभित्र इन्जो फन्र्नाडेजविरुद्ध खतरानाक फौल गरेका थिए । भिआरएको सहायताले रेफ्री मिचेल ओलीभरले उनलाई रातो कार्ड दिएर मैदान बाहिर पठाए भने चेल्सीले पेनाल्टी प्राप्त गरेको थियो ।
उक्त पेनाल्टीलाई ३५ औं मिनेटमा कोल प्लामरले गोलमा परिणत गर्दै चेल्सीलाई बराबरीमा ल्याएका थिए । ३५ औं मिनेटमा १० खेलाडीमा झरेको टोटनह्याम ५५ औं मिनेटमा ९ खेलाडीमा झरेको थियो । रहिम स्टर्लिङलाई फल गरेपछि इनोमा उडिगीले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए । ९ खेलाडीमा आएपछि टोटनह्याम पुरै दबाबमा आयो र त्यसपछि थप ३ गोल ब्यहोरेको थियो । ७५ औं मिनेटमा निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा ९ मिनट थप गरिएकोमा चौथो मिनेटमा चौथो र सातौं मिनेटमा लगातार गोल गर्दै ज्याकसनले ह्याट्रिक पूरा गरे । जितपछि चेल्सी १५ अंकका साथ दशौं स्थानमा उक्लिएको छ भने पराजित भएको टोटनह्याम शीर्ष स्थानमा उक्ल्ने मौका गुमाएको छ । टोटनह्याम २६ अंकका साथ दोस्रो स्थानमा रहँदा २७ अंक रहेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।