————- लक्ष्मीप्रसाद पौडेल
मन्त्रीको अश्रुमिश्रित वक्तव्य ल्याए पत्रकारले श्रव्यदृश्य पर्दामा । निकै भावुक , संवेदन र सोचनीय थियो त्यो पूरा आकृति । हेर्नेले हेरे, सुन्नेले सुने । कतिले च्व: च्व: गरे । कतिले खुच्चिङ पनि भने — होलान् ।
देश समाजबादीकरण हुनै लागेको शुभ मुहूर्तमा मन्त्रीमा आएको त्यो उदासीले समाजवाद र लोकतन्त्रमा धक्का लाग्ने लख काटे काट्नेजतिले । सरकारले प्रतिगमन देख्यो ।
‘जहाँ नपुगे कवि त्यहाँ पुगे विद्वान, विद्वानको पछिपछि पत्रकार र रवि ।” अहिलेको नयाँ उखान ।
‘एकजना निकै ठुला तर पूर्ण खुल्ला भइनसकेका कला व्यापारी देखेर युवतीहरु बेहोस भएछन् । ‘ एकजना विद्वानले फ्याट्ट लेखे ।
महोत्सवका खास व्यापारी र कला व्यापारी दुवैको व्यापार फस्टाएको, मुनाफाको चाङ लागेको खबर छापे पत्रकारले । जस्ताको तस्तै … ! ‘युवती मोहमा पागल । बेहोसी अस्पताल घायल । ‘
” खसोखास कथा के रहेछ ? ” कथाकारलाई खुल्दुली लाग्नु स्वाभाविक थियो । प्लट नपाएर थन्किएको बेला राम्रो टोट्का फेला पर्ने प्रवल सम्भावना थियो ।
-” बिहान आमाले बासी रोटी, नुन र लहसुनको चटनीसंग ‘खा’ भन्नुभो । खाएर घाँस दाउरा गर्न जंगल गएँ । जंगलबाट दाउरा फालेर घर पुगेको मात्र थिएँ । साथीले हिरा हेर्न जाम भनी । पेट बटारियो । भोकले चक्कर लाग्यो । लडेँ । ”
युवतीको व्यथा कथाकारको कथा बन्नु पूर्व नै पत्रकारको कहानीले बजार किनिसकेको थियो ।
कथाकारले पत्रकारको झ्याँको झार्ने सुरले बासी कथा पोष्ट्यायो ।
” मन्त्रीका आँसु, गोहीका —–!”