-लक्ष्मीप्रसाद पौडेल
धनगढी, कैलाली
—– “राहु अनेक थरीका हुन्छन् । राहुकालमा जन्मेको बच्चाले दुःख दिन्छ । त्यस्तै मुल्याहाहरु पनि असाध्यै पिराहा हुन्छन् । ”
पण्डितजीको ध्यान मेरो चिनामा भन्दा आफ्नो ज्योतिष विद्याको आयतन नपाउने ( नाप्ने ) प्रयोजनमा बढी केन्द्रीत थियो । म ग्रहदशा बिग्रेर मनोशान्तीका निम्ति उनको दैलोमा पुगेको थिएँ ।
—– ” उल्काका दशा रहेछन् ! यसले छ वर्ष पिर्छ । यो शनिको सहोदर भाइ हो भन्दा पनि हुन्छ । यसलाई जपतपद्वारा शान्त गर्न सकिन्छ । म उपाय लेखिदिन्छु ।”
यसपटक उनले मेरो चिना हेरेरै भनेका थिए । मलाई पनि उल्कै होला भन्ने शंका थ्यो । उखरमाउलो मात्र गर्न मन लाग्थ्यो । हो रहेछ पनि ।
तर मलाई आफ्नो उल्काको भन्दा राहुको बारेमा जान्ने जिज्ञासा जाग्यो । र सोधें, ” गुरू राहुले के कसरी पिर्छ , अनि अघि मुल्याहाको पनि जिकिर गर्नुभएको थियो ? त्यो पनि सुनौ न !”
उनले आफ्नो ब्रम्हज्ञान खोले । “राहु महदशाले अठार वर्ष पिर्छ । हरेक वर्ष क्षति गराउँछ । कुन वर्ष कति क्षति हुन्छ, थाहा हुन्न । उसको पेट सधै भरिएको हुनुपर्छ । ”
—“अनि मुल्याहाले नि ? ” मलाई अझै जान्नुथियो ।
—-” मुल्याहा धेरै किसिमका हुन्छन् । कोही धनको मूल हुन्छ । त्यसले धन जोगिन दिंदैन । कोही बाबुआमाको मूल हुन्छ । त्यसले बाबुआमा टोक्छ । असाध्यै दुःख दिन्छ । त्यस्तै कोही दाजु/भाइलाई दुःख दिने हुन्छन् । यी इमान्दार देखिए पनि जिद्दी स्वभावका हुन्छन्। यिनको लहडीपनाले अरूलाई नराम्रोसँग दुःख दिन्छ । ”
यसो सम्झे, ‘ यो देशका पार्टीहरू राहु परेछन् । एक अर्काको पछाडि मात्र कुरा काट्छन् । खाने बेला एकजुट हुन्छन् । अठार दुना छत्तीस वर्षसम्म पनि उस्तै दुःख देका’छन् मुलुक र जनतालाई ।
अनि नवसामन्त, सम्भ्रान्त विकासवादी, जिद्दी एकलकाँटे चाहिँ गरीब /सुकुम्बासी पिराहा मुल्याहा रहेछन् ।´
´साभार´