धनगढीको फूलबारीमा लोक सांस्कृतिक महोत्सव तथा प्रादेशिक खुल्ला देउडा प्रतियोगिता सम्पन्न

धनगढी टुडे समाचार डेस्क

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ डिपो बजार स्थित एनएस स्टेडियममा सुदूरपश्चिम लोक सांस्कृतिक महोत्सव तथा प्रादेशिक खुल्ला देउडा प्रतियोगिता सम्पन्न भएको छ ।

advertisement

सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलवारीले लोक संस्कृति संरक्षणका लागि सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर पुष २५ गतेदेखि कार्यक्रम आयोजना गरेको थियो । आज पौष २९ गते विभिन्न सांस्कृतिक प्रस्तुतिका साथ महोत्सवको समापन गरेको हो ।

लोक संस्कृति परम्परा संरक्षण गर्ने उद्देश्यले संचालन गरिएको महोत्सवमा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका गरी २० वटा देउडा टिमको सहभागिता रहेको थियो । साथै विभिन्न समुहले भुवा खेल, तामाङ्ग सेलो, कौडा नृत्य आदि समेत प्रदर्शन गरेका थिए ।

कला संस्कृतिको जगेर्नाका साथै संस्कृतिको पुस्तान्तरणको मूख्य उद्देश्य रहेको महोत्सवमा, कला क्षेत्रका हस्तीहरु नरेन्द्रराज रेग्मी, डिग्रा देवी गाइने, सुनिल नेपाली जस्ता राष्टिय तथा स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

advertisement

खुल्ला देउडा प्रतियोगितामा टिमहरुलाई निशुल्क प्रवेशको अवसर दिइएको भएपनि सहभागी सम्पूर्ण टिमलाई नगद रु. २ लाख पुरस्कार वितरण गरिएको संस्थाका सचिव जयकृष्ण जोशीले जानकारी दिए ।

सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको मूख्य प्रवर्धनमा संचालन गरिएको महोत्सव तथा देउडा प्रतियोगितालाई धनगढी उपमहानगरपालिकाका साथै उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका साथै विभिन्न संस्थामा कार्यरत कर्मचारी,शिक्षक तथा सर्वसाधारणले सहयोग स्वरुप नगद आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य माननीय डिल्लीराज पन्तले पुष २५ गते उद्घाटन गरेको महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेश धामीले आज पुष २९ गते समापन गरेका हुन् ।

समापन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले भुवा पर्वको अवसरमा फूलवारीमा ५ दिने महोत्सव तथा देउडा प्रतियोगिता आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै यस्ता महोत्सवले कला,संस्कृति जोगाउन र नयाँ पुस्तालाई हस्तान्तरण गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।

समापन कार्यक्रमका प्रमुख अतिथि उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेश धामीले “सुदूरपश्चिम प्रदेश कला,संस्कृतिको खानी रहेकोले जबसम्म हामी हाम्रा कला,संस्कृति,भेषभुषालाई पुस्तान्तरण गर्दैनौ तबसम्म हामी सुरक्षित छैनौ, त्यसकारण यस्ता महोत्सवबाट कला,संस्कृतिको पुस्तान्तरण हुने भएकोले बेला बेलामा यस्ता कार्यक्रमहरु आयोजना गरिनुपर्छ ।” भन्नुभयो ।