काठमाडौंमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दैछन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
चार टोली सहभागी यस च्याम्पियनसिपमा नेपाल र भारत दुवैको यो अन्तिम लिग खेल हो । यस खेलमा विजयी हुने फाइनल पुग्नेछ भने पराजित हुने टिम लिग चरणबाटै बाहिरिनेछ । त्यसैले फाइनल खेल्न दुवै टिमलाई जित्नै पर्ने दवाब रहेको छ ।
दुई खेलबाट नेपाल र भारतको समान तीन अंक छ । दुवैले भुटानलाई पराजित गरेका थिए भने बंगलादेशसँग पराजित भएका थिए । नेपाल पहिलो खेलमै बंगलादेशसँग २-० ले पराजित भएको थियो भने त्यसपछि भुटानलाई ३-० ले पराजित गरेको थियो ।
भुटानलाई पहिलो खेलमा ७-० ले हराएर सानदार सुरुवात गरेको भारत भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भयो । लगातार दुई खेल जितेको बंगलादेश यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ भने लगातार दुई खेल हारेको भुटान फाइनल होडबाट बाहिरिसकेको छ ।
बंगलादेश दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । भुटान अंकविहीन हुँदै पुछारमा छ । बंगलादेश र भुटानबीच बिहीबार लिग चरणको अन्तिम खेल हुनेछ । त्यसअघि नै बंगलादेशसँग फाइनल खेल्ने अर्को टोलीको टुंगो भने आजै लाग्नेछ ।