भारतका शिखर धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, २९ कार्तिक । कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टोलीमा अनुबन्ध गरेको छ । याक्सले आज (बिहीबार) भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

advertisement

कर्णाली याक्सको टिम भारतमै पुगेर धवनसँग एनपीएलका लागि सम्झौता गरेको हो । सम्झौतामा टिम मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ ।

३८ वर्षीय बायाँ हाते ओपनर धवनले भारतका लागि च्याम्पियन ट्रफी देखि एसिया कप जितेका छन् । यस्तै धवनले सनराइजर्स हैदरवादबाट इन्डियन प्रिमियर लिग (आईपीएल) समेत जितेका छन् ।

advertisement

उनले आईपिएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् ।

धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी व्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए । ‘विश्व क्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णाली याक्स टिम नै खुसी छौं । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धी हो’ खनालले भने, ‘धवनको आगमनले कर्णाली याक्सलाई मात्रै नभएर नेपाली क्रिकेट र नेपाली खेलाडीलाई फाइदा पुग्ने विश्वास छ ।’

शिखर धवनको अनुबन्धपछि कर्णाली याक्सको टिम अझ बलियो बनेको छ । कर्णालीले यसअघि नै पाकिस्तानका हुसेन तलात, वेष्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको छ ।

नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामी मार्की प्लेअर रहेको कर्णालीको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् । अब ज्ञानेन्द्रको प्रशिक्षणमा धवनले खेल्दा कस्तो होला? सोमपाल कामी र धवनले एक टिमबाट खेल्दा कस्तो होला? मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुने एनपिएल प्रतिक्षा गर्नुपर्नेछ ।

कर्णाली याक्सको अन्य खेलाडीमा गुल्शन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे छन् ।