रहेनन् वाइल्डलाइफ फोटोग्राफर शेर्पा

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, २९ पुस । वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षको उमेरमा काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा गए राति १२ बजे उनको निधन भएको हो ।

advertisement

शेर्पा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्लाका स्थायी बासिन्दा थिए । उनका आफन्त एवं त्यहाँका वडा अध्यक्ष फुनुरु शेर्पाका अनुसार, चुङ्बा शेर्पालाई स्वास्थ्यसम्बन्धी समस्या आएपछि एक हप्ता अघि काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । वडा अध्यक्षका अनुसार उनको कलेजोमा समस्या देखिएको थियो । यद्यपि निधनको विस्तृत कारण भने हालसम्म सार्वजनिक भएको छैन ।

चुङ्बा शेर्पा लामो समयदेखि फोटोग्राफीमा सक्रिय थिए। पछिल्ला केही वर्षयता उनी वाइल्डलाइफ फोटोग्राफीमा केन्द्रित थिए । उनले खिचेका दुर्लभ वन्यजन्तु रेड पाण्डा, पाटे बाघ, हिम चितुवा, चौंरी गाई लगायतका फोटोहरू निकै चर्चित थिए । गुणस्तरीय ग्याजेट प्रयोग गरेर स्तरीय फोटो खिच्ने क्षमताका कारण चुङ्बा वाइल्डलाइफ फोटोग्राफीमा अब्बल व्यक्तित्वका रूपमा चिनिन्थे ।

advertisement

उनले आफूले खिचेका फोटो तथा भिडिओ सामाजिक सञ्जाल फेसबुक र टिकटकमा राखिरहेका हुन्थे । उनको फोटोग्राफीले नेपालको पर्यटन क्षेत्रमा समेत राम्रो टेवा पुगेको मानिन्छ । वन्यजन्तु फोटोग्राफीमा उल्लेखनीय योगदान दिने चुङ्बा शेर्पाको निधनले वाइल्डलाइफ फोटोग्राफी क्षेत्र र संरक्षणसम्बन्धी समुदायलाई गहिरो क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *