भारतलाई १० अर्ब ४५ करोड रूपैयाँको बिजुली बिक्री गरेको छ

सुमन श्रेष्ठ

नेपालले आर्थिक वर्ष २०७९/८० मा भारतलाई १० अर्ब ४५ करोड रूपैयाँको बिजुली बिक्री गरेको छ। उक्त वर्ष १९ अर्ब ४४ करोड रूपैयाँको बिजुली किनेको छ।

advertisement

बिजुलीमा ८ अर्ब ९९ करोड रूपैयाँ व्यापार घाटा देखिएको छ।

नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात सुरू गरेको हो। हाल करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको छ।

advertisement

भारत निर्यातको लागि करिब ६०० मेगावाट थप आयोजनाहरू भारतको विद्युत मन्त्रालयमा सहमतिको प्रकृयामा रहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘बिहार र नेपालका विभिन्न स्थानमा जोडिएका १३२ केभी प्रसारण लाइनहरूबाट बिहारको ग्रिड हुँदै भारतको केन्द्रीय ग्रिड प्रणालीबाट करिब ३०० मेगावाट विद्युत बिक्री गर्न पिटिसी इन्डिया, बिहार स्टेट पावर कर्पोरेशन र प्राधिकरणबीच त्रिपक्षीय सहमति भएको छ,’ घिसिङले भने।

भारतको हरियाणा राज्यलाई विद्युत सप्लाई गर्ने गरी भारतीय विद्युत व्यापार कम्पनी एनभिभिएनसँग पाँच वर्षको लागि २०० मेगावाटको मध्यकालिन विद्युत बिक्री सम्झौता सकिएको छ।

यसलाई कार्यान्वयनमा लैजाने समहतिको लागि भारतीय ऊर्जा मन्त्रालयमा पठाइएको उनले बताए। बंगलादेशमा विद्युत निर्यातको लागि भारतको एनभिभिएन, बंगलादेशको बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड र प्राधिकरणबीच त्रिपक्षीय सम्झौताको अन्तिम चरणमा रहेको उनले उल्लेख गरे।

प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइन विस्तारमा जोड दिएको घिसिङले बताए।

उनका अनुसार बुटवल गोरखपुर ४०० केभी प्रसारण लाइनको निर्माण सुरू भएको छ। कुशाह कटैया दोस्रो सर्किट १३२ केभी, परवानीपुर रक्सौल दोस्रो सर्किट १३२ केभी र मैनहिया सम्पतिया १३२ केभी, डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको उनले बताए।

‘पछिल्ला दुई वर्षमा नेपालले १७७४ मेगावाट बिजुली खरिद बिक्री सम्झौता गरेको घिसिङले बताए। यस अवधिमा प्राधिकरणले आरओआर जलविद्युत आयोजनातर्फ १५०० मेगावाटको थप पिपिए खुलाएको छ। ११०५ मेगावाटको पिपिए स्वीकृत भइसकेको छ,’ घिसिङले भने।

आर्थिक वर्ष २०७९/८० मा प्राधिकरणको नाफामा भने एक अर्ब चार करोडले गिरावट आएको छ।

आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा १३ अर्ब ३७ करोड रूपैयाँ थियो। २०७९/८० मा १२ अर्ब ३३ करोड रूपैयाँ पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

२०७९/८० मा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा विद्युत उत्पादनमा कमी आएको घिसिङको भनाइ छ।

‘बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूको विद्युत उत्पादनमा ह्रास आउँदा तथा आन्तरिक माग धान्न विद्युत आयात केही मात्रामा बढ्दा नाफा प्रभावित भएको छ,’ उनले भने।

प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघिको तुलनामा भने बढेको जनाएको छ। यस्तो आम्दानी दुई वर्षअघिको तुलनामा ८१ अर्ब रूपैयाँ थियो। अहिले बढेर एक अर्ब १८ अर्ब पुगेको घिसिङले जानकारी दिए।

प्राधिकरणको सञ्चित नाफा दुई वर्षमा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड पुगेको उनले बताए।