आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ बल अगावै ९ विकेटको क्षतिमा भेट्टायो ।
निकै दबाबबिच महाराज र शाम्शीले आफ्नो विकेट जोगाउँदै दक्षिण अफ्रिकालाई जीतसम्म पुर्याएका हुन् । टोलीका लागि मारक्रमले सर्वाधिक ९१ रन रन बनाए । उनले ९३ बल खेल्दै ७ चौका र ३ छक्का हिर्काए । त्यस्तै, मिलरले २९ रन तथा कप्तान बभुमाले २८ रनको योगदान दिए ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ तथा ह्यारिस राउफ, मोहम्मद वसिम र उस्मा मिरले समान २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र साउद सकिलले अर्धशतकीय पाली खेले । कप्तान बाबरले ६५ बलमा ४ चौका र १ छक्का हिर्काउँदै ५० रन बनाए । शकिलले ५२ बलमा ५२ रन बनाए ।
पाकिस्तानको यो प्रतियोगितामा लगातार चौथो हार हो । पराजयपछि पाकिस्तानको सेमिफाइनलको यात्रा कठिन बनेको छ ।