कार्तिक १७, काठमाडौं : आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले टि-२० विश्वकपमा स्थान सुरक्षित गरेको छ ।
मूलपानीस्थित क्रिकेट मैदानमा भएको नेपाल र यूएईबीचको खेलमा १३५ रनको लक्ष्य पाएको नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
टस जित्दै ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । वेस्टइन्डिज र अमेरिकाले २०२४ मा संयुक्त रुपमा आयोजना गर्ने टि-२० विश्वकपमा नेपाल छनोट भएको हो ।
नेपाललाई जिताउन ओपनर मोहम्मद आसिफले ५१ बलमा ६५ रन हिर्काए । कप्तान रोहित पौडेलले २० बलमा ३३ रनको नटआउट पारि खेले ।
नेपालका गुलसन झाले २२ रनको पारि खेल्दा कुशल भुर्तेलले ११ रन बनाए ।
युएईका निलसन केसवानी र बसिल अहमदले एक-एक विकेट लिए ।
टस जित्दै ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो ।
यूएईले ३ ओभरमा २९ रन बनाएका बेला नेपालका सोमपाल कामीले खालिद साहलाई आउट गर्दै यूएईको पहिलो विकेट लिएका थिए । सोही ओभरको चौथो बलमा पुन: सोमपालले कप्तान मोहमद वसिमलाई करण केसीमार्फत आउट गराए ।
वसिमले १६ बलमा २६ रन बनाए । उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए । तेस्रो सफलता सन्दीप लामिछानेले आसिफ खानलाई एलबीडब्ल्यू आउट गरे । आसिफले १४ बलमा १३ रन बनाए ।
१३ ओभरको चौथो बलमा कुशल मल्लले एसिलसन सराफुलाई सोमपालबाट क्याच आउट गराएर पभेलियन फर्काए । यस्तै कप्तान रोहित पौडेलले अली नासेरलाई कुशल भुर्तेलको उत्कृष्ट क्याचको मद्दतले आउट गरे । नासेर ४ रन बनाएर पभेलियन फर्किए ।
सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदै नेपाललाई बसिल अहमदलाई आउट गर्दै छैटौं सफलता दिलाए । बसिलले १ रनमै चित्त बुझाए । यूएईका लागि २ छक्का र ८ चौकाको मद्दतले ६४ रनको पारि खेलेका वृत्य अरविन्दलाई सातौं विकेटका रुपमा कुशल मल्लले गुल्सन झामार्फत क्याच गराउँदै पभेलियनको बाटो देखाए । अरविन्दले ५१ बलको सामना गरे । यस्तै कुशलले नै १९.३ ओभरमा आयान अफजल खानलाई क्याच आउट गराउँदै नेपाललाई आठौं सफलता दिलाए । अफजलको खातामा १ रन मात्रै चढ्यो ।
नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १४ रन खर्चिएर २ विकेट लिए । सोमपालले ३ ओभर बलिङ गर्दा १५ रन दिएर १ विकेट लिए । कुशल मल्लले ३ ओभर बलिङ गरेर १० रन खर्चिंदै ३ विकेट हात पारे । रोहित पौडेलले १ ओभरमा ६ रन दिएर १ विकेट हात पारे । अभिनाश बोहोराले ३ ओभरमा ३६ रन दिएर विकेटविहीन बन्दा करण केसीले ३ ओभरमा २६ रन खर्चिए । यस्तै गुल्सन झाले ३ ओभरमा २४ रन दिएका थिए ।