भीमदत्तको शालिक तोड्ने अठार जना पक्राउ

धनगढी टुडे समाचार डेस्क

कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको शहीद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित अठार जनालाई पक्राउ गरेको छ ।

advertisement

आज महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीय प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा उनीहरुले पार्कमा रहेको शालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए ।

राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले शालिक तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले शालिक तोडफोडमा संलग्न १८ जनालाई भर्खरै नियन्त्रणमा लिएको जानकारी दिए ।

advertisement

“तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएर थप बुझ्ने काम भइरहेको छ ।” प्रवक्ता डाँगीले भने, “उनीहरुको नामावली सङ्कलनलगायत काम पनि भइरहेको छ ।”

प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजा र हिन्दूत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका मुद्दामा नाराबाजीसमेत गरेका थिए ।