देश र जनताका लागि शहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा आज विभिन्न कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइँदैछ ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका सपुतहरूको सम्मानमा माघ १६ गते विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा रहेकोछ। गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ।
२०१२ साल देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीको सम्झनामा दिवस मनाउन थालिएको हो।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ।
शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ। प्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।