नेकपा (एमाले) कैलाली जिल्लाको ९औँ जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते घोडाघोडी नगरपालिकाको सुखडमा हुँदैछ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
जिल्लाको नेतृत्व लिन चाहने नेताहरू कार्यकर्तामाझ आफूले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै आफ्नो एजेन्डा सहित प्रस्तुत हुन थालेका छन् । त्यस मध्येका सशक्त दाबेदार युवा नेता यज्ञराज ढुङ्गाना पनि हुन् । अनेरास्ववियुबाट राजनीति उचाइ बनाएका उनले जिल्लाको नेतृत्व लिन आकांक्षा देखाएका हुन् ।
जिल्लाका कार्यकर्ताहरूले नेतृत्वका लागि नयाँ विकल्प खोजिनुपर्ने आवाज उठाइरहेका बेला उनले आफूलाई नयाँ अनि सक्षम नेतृत्व साबित गरी एमाले कैलालीलाई जनतामाझ लोकप्रिय पार्टी बनाउने एजेन्डा सहित जिल्ला दौडाहामा निस्केको बताए । सरल, शालीन र नेताको छवि बनाएका ढुङ्गानाले आगामी निर्वाचनमा एमालेलाई कैलालीको नेतृत्व पाए जिल्लामा पहिलो पार्टी बनाउने दाबी गरे ।