मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा भुटानले नेपाललाई ६६ रनको सामान्य लक्ष्य दिएको छ ।
बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन मात्र बनाउन सक्यो ।
भुटानकी ओपनर न्गावांग चोडेनले सर्वाधिक २५ रन बनाइन् । भुटानकी ओपनर यक्षे चोडेनलाई नेपालकी तीव्र गतिकी बलर कविता कुँवरले १ रनमा बोल्ड गरेकी थिइन् । छिरिङ जान्ग्मो १६ रनमा आउट भइन् । कप्तान तथा विकेटकिपर डेचन वान्ग्मो १७ रनमा आउट भइन् ।
नेपालकी कविता कुँवर, इन्दु बर्मा र सीता रानामगर र कविता जोशीले समान एक/एक विकेट लिए।
नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले लिग चरणको अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।
आजको खेल जितेमा नेपालको क्वाटरफाइनल पक्कापक्की जस्तै बन्नेछ ।