काठमाडौं, २३ जेठ । आइसिसी ट्वान्टी-२० विश्वकपमा नेपालले हारबाट सुरुआत गरेको छ । समूह डीको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो ।
नेदरल्यान्ड्सका म्याक ओ डाओडले सर्वाधिक ५४ रन बनाए । त्यस्तै विक्रमजीत सिंह २२ र साइब्रेन्ड एन्गलब्रेख्त १४ रनमा आउट हुँदा बास डे लीडे ११ रनमा अविजित रहे । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहरा समान १/१ विकेट लिए ।
त्यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यस्तै करण केसी १७, गुल्शनकुमार झा १४ र अनिल साह ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
नेदरल्यान्ड्सका टिम प्रिन्गल र लोगान भ्यान वीकले समान ३/३ विकेट लिए भने पाउल भ्यान मिकरेन र बास डे लीडेले समान २/२ विकेट लिए ।