आज सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

धनगढी टुडे समाचार डेस्क

धनगढी, १ भदौ । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाईँदैछ । वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

advertisement

आज विहानै नुहाईधुवाई गरी विभिन्न स्वादिष्ट परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आफन्तलाई ओल्को अर्थात उपहार दिई यो पर्व मनाउने चलन रहेको छ । आफूभन्दा ठुलाबडा, मान्यजनलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रही आएको छ । साथै आज ओल्कोको रुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन समेत रहेकोछ ।

ओल्के संक्रान्तिताका सतरति (सातरातको झरि) पर्दछ । यो समयमा आकासमा तारा देखिएमा वन चर्न गएका भैसीका सिङ ओभानो भएमा अनिकाल पर्ने संभावना र ऋतुमति धर्तिले नविन श्रृजना गर्ने विश्वास रहि आएको छ । प्रकृतिमा नयाँ नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्राहरु देखिनुका साथै धुलो धुवाँ र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्ने पनि विश्वास रहेको छ ।
यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर पनि विशेष रुपमा मनाईन्छ ।

advertisement