काठमाडौं, १७ असोज । क्यानडा टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको ओन्टेरियोमा बुधबार राति सकिएको खेलमा नेपालले ओमानमाथि ५६ रनको जित निकाल्यो ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अलआउट भयो ।
जितसँगै नेपालले चार अंक जोडेको छ भने अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको क्यानडाको पनि चार अंक छ। रनरेटमा क्यानडा पछि छ । तेस्रो स्थानको ओमानको दुई अंक छ । अब अन्तिम खेलमा ओमानले क्यानडालाई हराए नेपालको सिरिज जित्ने सम्भावना हुनेछ ।
बुधबार ओमानका लागि जीसन मक्सुदले ३५ रन र अकिब इल्यासले २२ रन जोडे ।
बलिङमा नेपालका कुशल भुर्तेलले ३ विकेट लिए। उनले १.५ ओभरमा १० रन मात्र खर्चिए। सन्दीप लामिछाने, रोहित पौडेल र रिजन ढकालले २-२ विकेट लिए ।
त्यसअघि नेपालले ओमानविरूद्ध ७ विकेटको क्षतिमा १५७ रन जोड्यो ।
टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। उनले नटआउट ५६ रन जोडे । रोहितले ४४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। सोमपाल कामी ३ रनमा नटआउट रहे ।
त्यसअघि सुरुवाती पाँच बल खेलेका ओपनर अनिलकुमार साह एक चौका र एक छक्का प्रहार गर्दै ११ रनमा आउट भए ।
अर्का ओपनर आसिफ शेखले १४ बलमा १६ रन र देव खनालले १८ बलमा १८ रनको योगदान गरे । कुशल मल्ल २६ बलमा १९ रन जोड्दा कुनै बाउन्ड्री प्रहार नगरी आउट भए ।
गुल्सन झा २ रन र दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भएका थिए। कुशल भुर्तेलले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोड्न सके ।
बलिङमा ओमानका फयज बटले ३ विकेट लिए। उनले चार ओभरमा २३ रन रन खर्चिए ।
सिरिजमा नेपालले घरेलु टोली क्यानडाविरूद्धका दुवै खेल गुमाउँदा ओमानलाई भने दुवै खेलमा हरायो ।