धनगढी, ३० माघ । धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन गरिएको छ । डा. पन्तलाई आज (बुधबार) धनगढी उपमहानगरपालिकाद्वारा अभिनन्दन गरिएको हो ।
डा.पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली वाणिज्य क्याम्पसमा पढाउन थालेका थिए । पन्तले मासिक रु. एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाएका थिए ।
१४५ विद्यार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखियो । भारतबाट विद्यावारिधि गरेका डा. पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए । प्राध्यापक डा. पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदमा रहेर काम गरे । डोटीको शिखर नगरपालिका–९ उच्चाकोट (सिद्धेश्वर गाउँ पञ्चायत) मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका हुन् ।