धनगढी : सरकारले हलिया मुक्ति घोषणा गरेको १५ वर्ष पूरा भएको छ । २०६५ साल भदौमा हलिया प्रतिनिधि र सरकारबीच भएको पाँच बुँदे सहमति अनुसार हलिया प्रथाको अन्त्यको घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष भदौ २१ गते हलिया मुक्ति दिवस मनाउने गरिन्छ । सरकारले सहमति र प्रतिबद्धता गरेअनुसार हलिया पुनस्र्थापनाको काम भने हुन सकेको छैन ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमाणीकरणमा परेकामध्ये २० प्रतिशत मुक्त हलिया परिवार पुनःस्थापनाको पर्खाइमा छन् । नौ प्रतिशत मुक्त हलियाले पुनःस्थापनाका लागि अन्तिम किस्ता रकम पाउन सकेका छैनन् । सुदूरपश्चिम प्रदेशका नौ र कर्णाली प्रदेशका तीन गरी १२ जिल्लामा प्रमाणीकरणमा परेका मुक्त हलिया १६ हजार ९ सय ५३ रहेका छन् । तीमध्ये अहिलेसम्म १३ हजार ५ सय ४६ घरघुरीले पुनःस्थापन प्याकेज प्राप्त गरेका छन् ।
३ हजार ४ सय ७ परिवार अझै पुनःस्थापनको पर्खाइमा छन् ।
धेरै मुक्त हलिायको तथ्यांक संकलन गरेर पठाएको भएपनि प्रमाणिकरणमा नमरेको मुक्त हलियाका केन्द्रिय अध्यक्ष इश्वर सुनारले बताए । ‘सरकारको लापर्वाहीका कारण तथ्यांकमा नाम समावेस हुनुपर्नेको भएको छैन ।
मुक्त गरिएका हलिया समुदायका समस्या १४ दिनका लागि पनि समाधान हुन सकेन। हरेक वर्ष दिवस आउँछ र जान्छ; तर उनीहरूप्रति त्यसले कुनै सरोकार राख्दैन। मुक्तिको दिन सम्झन्छन् र एकछिन खुसी हुन्छन्, फेरि पीडा थपिन्छ र पलमै दुःखी बन्न बाध्य हुन्छन्। यस्तै पीडा, अभाव र तनावमय जीवन जिउन बाध्य छन्, मुक्त हलिया परिवार। सरकारी निर्णय र कागजी प्रक्रियामा कोही पनि साहुको हलो जोत्न बाध्य छैनन् र हलिया बस्दैनन् भन्ने प्रमाण छ, तर मुक्त हलियालाई प्रमाणले न खान पुगेको छ न त जीवन गुजारा गर्न नै। उनीहरूका समस्या पुरानै छन्। सरकारी पदमा बसेकालाई समस्या सुन्दा सामान्य लाग्न सक्छ, तर उनीहरूलाई परेको पीडा सामान्य छैन। खान–बस्नकै लागि समस्या छ। उपचारका लागि अभाव छ। छोराछोरीका लागि राम्रो लालनपालन छैन।
चाडपर्व त परैका कुरा परे। तीज पर्व घरआँगनमा आइसकेको छ। दिनहुँ नाच, गान, रमाइलो गर्ने र दर खाने कार्यक्रम भइरहेका छन्, तर मुक्त हलियाका बस्तीमा कुनै वर्ष तीज आउँदैन, न त दसैं–तिहार नै आउँछ। साहुले बोलाए मात्र उनीहरूले चाडपर्वको अनुभव गर्न पाउँछन्, नत्र अवस्था दयालाग्दो छ। मुक्त दिवसमा समेत उनीहरू खुसी छैनन्। उनीहरूमा उत्साह र उमंग छैन। समय फेरिए पनि मुक्त हलियाका सबाल र समस्या फेरिएका छैनन्।