ललिता निवास जग्गा हिनामिना पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ 

सुमन श्रेष्ठ

धनगढी ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २०६९को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग बयान लिइएको जनाएको छ ।

advertisement

सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले पूर्वमुख्यसचिव पौड्यालसँग ललिता निवासका विषयमा जानकारी लिइएको र यो नियमित प्रक्रिया भएको बताए । विसं २०६९ मा ललिता निवासको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा सार्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो । त्यही निर्णयका विषयमा सीआईबीले उनीसँग बयान लिएको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पौड्यालसँग बयान लिएको थियो । केही दिनअघि सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा उच्च र निर्णय तहका व्यक्तिहरुमा पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।

ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । यसअघि सीआईबीले पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ अनुमति लिइसकेको छ ।

advertisement