राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाई आयोजनाबाट विद्युत् उत्पादन कार्य शुरु भएको छ । माघ १६ गते रातिबाट विद्युत उत्पादन शुरु गरी लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको हो ।
जानकी गाउँपालिका ९ कटाँसेमा बनेको उत्पादन गृहको ३३ केभी लाइन लम्की स्टेसनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
परीक्षणका क्रममा साढे एक मेगावाट विद्युत उत्पादन भएको विद्युत् प्राधिकरण लम्कीका प्रमुख खगेन्द्रप्रसाद धमलाले जानकारी दिए । रानीजमराको पूरै उत्पादन भएका ३ वटा टर्बाइनको सहायताले ४ दशमलव ७१ मेगावाट विद्युत् निरन्तर उत्पादन हुनेछ ।
२०७८ माघबाट उत्पादन सुरु गर्ने लक्ष्य भएपनि कात्तिक १ गते आएको बाढीले संरचनामा क्षति पुर्याएपछि पुनर्निर्माणमा ढिलाई भएको थियो । आयोजना आर्थिक वर्ष २०६६/६७ सालमा सुरु भएको थियो ।