काम गर्छु भन्दै’थे,मारिदिए

धनगढी टुडे समाचार डेस्क

काम गर्छु भन्दै’थे,मारिदिए
_______________________
काम गर्न उत्साहित थे,
फ्याट्ट एक गोली दागेर
मारिदिए ।

advertisement

उहिले चारो चरिरहेको ढुकुर
मार्थे गुलेलिबाज
एक छाक बनाउँथे
भुत्ल्याएर भुङ्ग्रोमा घुसार्थे ।

यिनले भोको युवा मारे
मान्छे भुत्ल्याए ढुकुर झैं ।

advertisement

शासक भनेको निरंकुश हुन्छ भन्थे
अन्धो र अविवेकी पनि हुँदो रैछ ।

काम खोज्नु पनि सत्ताको विरोध हुँदोरैछ
जुनबेला सत्तासँग कुनै काम हुँदैन ।

युवाको घर हुन्छ
युवाको आमा पनि हुन्छ बा हुन्छ
युवाको बहिनी हुन्छ भाइ हुन्छ
युवाको घर, बा- आमा, भाइ- बहिनी सजाउने सपना हुन्छ !

सत्तासँग बा हुन्न ,आमा हुन्न
सत्ताको कुनै भाइ हुन्न, बहिनी हुन्न
सत्ता निरपेक्षी हुन्छ ( त्यसो भन्छन् )
कुनै कुनै सत्ताको विवेक पनि हुन्न
विवेक नहुनेसँग काम पनि हुन्न
विवेक नहुने सत्ता सापेक्ष हुन्छ !

पढ्छु भन्दै’थे मारिदिए
काम गर्छु भन्दै’थे मारिदिए
देशले नदिए नि विदेशले दिन्छ भन्दै’थे मारिदिए !

तिमी देशलाई नै चाहिन्छ भनेको भए हुन्थ्यो
एक शब्द बोल्न दिएको भए हुन्थ्यो
एक दिन थुनेको भए हुन्थ्यो
यो काम गर, यो काम नगर भनेको भए हुन्थ्यो
फ्याट्ट भगेरो खसाले झैं खसालिदिए ।

अब आमा के गर्लिन्
अब बा के गर्लान्
कि सरकार ती आमा पनि मारिदेऊ
नत्र सरकार ती आमालाई विधुवा बनाइदेउ
विधुवाको कुनै रङ हुन्न
रङ उडेपछि सपना पनि हुन्न ।

मूढो बाँच्छ मान्छे
अचेत बाँच्छ मान्छे
बहुलाह बाँच्छ मान्छे

मुढोसंग चेत हुन्न
चेत नहुँदा विरोध हुन्न
विरोध नहुँदा गोली चल्दैन
गोली नचले मान्छे मर्दैन ।

मरेको मान्छे मार्नु मर्दैन ।

जिउँदाले हो काम खोज्ने
जिउँदा संग हो काम हुने
म जिउँदै छु काम गर्छु भन्दै’थे
प्याट्ट एक गोली छाती नै ताकेर मारिदिए
थाहा थे’न सत्ता जिउँदो थ्यो कि थेन !

मान्छे मारेर चेतना मर्दैन
शरीर मरे नि आत्मा मर्दैन
एक बीउले हजार बीज उमार्छ
एक रगतले रक्तबीज उमार्छ ।

सरकार तयार रहनु
काम खोज्नेहरू प्रसस्तै छन्
तिमी जस्ता अल्छे कमै छन्
बन्दुकमा पाइन लगाई राख्नु ।

के थाहा तिम्रो भागमा
कति आमा रुवाउनु छ
कति दिदि बहुलाउनु छ ।

( श्रद्धाञ्जली सुजन, श्रद्धाञ्जली विरेन्द्र )