एक रात
चकमन्न थियो अँध्यारो
धिपधिपे टुकी बल्बले पोतेको उज्यालो
एक निन्द्रा खुसुक्क निदाउन
आफ्नै हत्केलाको सिरानी थामेर
आँखा डुबाएको थियो सपनामा
त्यो रात,
न कुकुर एकोहोरो रोएको होस्
न बिरालोको ङ्ञार ङ्यार सुनिएको होस्
स्याल बेचेर स्वयं स्याल सुतेको शहरमा
स्यालको ख्याक ख्याक कताबाट आवस्
थिए त एक हुल लिडे कुकुर
जो घरी मुन्टो तल, घरी मुन्टो माथि हुन्थ्यो
हो ठ्याक्कै त्यही रात
त्यही कात्तिके सुंघाई
छिरेछ एउटा पाठशाला भित्र
र चुडेछ एउटा कोपिला,
आज कतिऔं दिन भो ?
ती पाठशाला नानीको खबर
आउँदैन त पन्नामा ?
कि ——————
त्यो दिनको एउटा खबर थियो, सकियो
अर्को बेखबरको पर्खाइ हो काइँला ?
उँधोमुन्टेहरूको राज–मा ———–!
#एलपी