बुटवल, १५ जेठ । ११ वर्षीय बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-४ का अम्मर बहादुर रानाले गत वैशाख ३१ गते नाबालिकासँग बिहे गरेको आरोपमा प्रहरीले उनलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो ।
अम्मर उमेरले ३० वर्षका हुन् । उनले विवाह गरेको नाबालिकाकाे उमेर भने मात्र ११ वर्ष ७ महिना रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) प्रतित सिंह राठोरले जानकारी दिए ।
उनका अनुसार अम्मरले नाबालिकासँग बिहे गरेको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।
उनलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।