७६ वर्षीय हजुरबुवाले दिए प्रकृतिलाई दागबत्ती

धनगढी टुडे समाचार डेस्क

धनगढी, ८ फागुन । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी भैरहवाकी प्रकृति लम्साललाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् । देवनाथ ७६ वर्षका छन् ।

advertisement

प्रकृतिको भैरहवाको स्वर्गद्वारी घाटमा बुधबार राति अन्तिम बिदाइ गरिएको हो । अन्त्येष्टिमा सिद्धार्थनगरवासीको ठूलो उपस्थिति थियो ।

भारतबाट गोरखपुर हुँदै राति ९ बजे प्रकृतिको पार्थिव शरिर भैरहवा ल्याइएको थियो । उनका बुवालगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो ।

advertisement

करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर-८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली दिएर १२ बजेपछि बाहिर निकालिएको थियो । शवयात्रामा आफन्तसँगै उनलाई अन्तिम श्रद्धान्जली दिन केआईआईटीमा अध्ययनरत् उनका सहपाठीहरुको पनि उपस्थिति रहेको थियो ।

२०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको यही आइतबार शंकास्पद रुपमा मृत्यु भएको थियो । उनको शव केआईआईटीको छात्रावासमा झुण्डिएको अवस्थामा फेला परेको थियो । यस सम्बन्धमा भारतीय प्रहरीले एकजनालाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रकृतिको परिवारले घटनाको छानबिन गरी दोषीलाई कार्बाही गर्न माग गरेका छन् ।
Onlinekhabar बाट