काठमाडौं, ९ असार । पाँचौं संस्करणको ‘नेपाल आइडल’ उपाधि बर्दियाका करण परियारले जितेका छन् । हिजो (शनिबार) सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् ।
विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे ।
विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौं संस्करणमा गायक न्हू बज्राचार्य, संगीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक थिए ।